तनहुँ, असोज १ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय प्रशिक्षण शुक्रबार तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएपछि पहिलोपटक केन्द्रीय समितिको पाँच दिने प्रशिक्षण कार्यक्रम शुरु भएको सो दलले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि महासचिव विप्लव बन्दीपुरमा हुनुहुन्छ । बन्दीपुर माउन्टेन रिसोर्टमा शुरु बन्द प्रशिक्षणमा भाग लिन अरु नेतासहित विप्लव यहाँ आउनु भएको सो पार्टीका जिल्ला नेता ओमविक्रम पन्तले जानकारी दिनुभयो । खुला राजनीतिमा आएको पार्टीले भावी कार्यदिशाबारे जानकारी दिन केन्द्रका अतिरिक्त जिल्लास्तरका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको पन्तले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमको लागि विप्लव लगायतका नेता बिहीबार नै बन्दीपुर पुग्नुभएको थियो ।
बैठक ५ गतेसम्म सञ्चालन हुने पन्तले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा केन्द्रीय समितिका ७६ जना सदस्य सहभागी छन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीको पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जनाको सहभागीता रहेको बताइएको छ । प्रशिक्षण कार्यक्रम सकिएपछि बन्दीपुरमा पार्टीकोतर्फबाट पत्रकार सम्मेलन गर्ने नेता पन्तले बताउनुभयो ।स्रोत: गोरखापत्र अनलाइन ।

