संखुवासभा : संखुवासभाको मादी नगरपालिका १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स हत्या भएको घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी टोली मादी पुगेको छ । प्रहरीको सो टोली धरानबाट सोमबार साँझ मादी पुगेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीका अनुसार सामूहिक हत्याको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थल खोलागाउँ पुगेको छ।
आइतबार राती अज्ञात समूहले धारिलो हतियारको प्रयोग गरी हत्या गरिएकामा मादी १ का ५८ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की ,३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्की रहेका छन्।
अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र वास्तविकता चाँडै बाहिर आउने डीएसपी सुवेदीले बताए ।
तेजबहादुरका छोरा रमेश कार्की र नरेश कार्की
रोजगारीको सिलसिलामा मलेसिया (रमेश) र दुबई (नरेश) मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

