काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले मङ्गलबार(आज) संसदीय दलको बैठक बोलाएको छ।सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।

भदौ २३ गते बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको बताइएको छ।
संसद्को आगामी बैठकका बारेमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्ने जस्ता कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ।
गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेअनुसार राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

