काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले फुट र विभाजनको विपक्षमा उभिन देशभरका आफ्ना जनप्रतिनिधिहरुलाई अपिल गरेका छन्।आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै महासचिव पोखरेलले सो अपिल गरेका हुन्।

विज्ञप्तिमा पोखरेलले देशैभरका एमालेका जनप्रतिनिधिहरुलाई गलत उक्साहटमा नलागी पार्टीको एकताको पक्षमा उभिन आग्रह गरेका छन्।
“नेकपा (एमाले)को विभाजनको लागि जानी जानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले)मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई नेकपा (एमाले)बाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप गरिरहेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने छर्लङ्ग भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,”एमालेको आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिन चाहान्छौँ।”

