काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुर्वचन, मिथ्या र अपशब्द बाहेक अरू केही नआउने भनी नेता वामदेव गौतमले बताएका छन्। शनिबार एमाले अध्यक्ष ओलीले गौतमलाई उपप्रधानमन्त्री बन्नकै लागि एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेको आरोप लगाएका कारण नेता गौतमले त्यस्तो अभिव्यक्ति दिएका हुन्।

नेकपा एमालेबाट राजीनामा दिएका गौतमद्वारा आइतबार अध्यक्ष ओली र ओलीनिकट केही नेताहरुलाई भाइबरमार्फत् पठाइएको म्यासेजमा नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष केपी ओलीको मुखबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरू केही सुन्न नपाइने भयो भनी उल्लेख गरेका छन्।
म्यासेजमा गौतमले आफूले नेकपा एमाले छाडेको तर कम्युनिष्ट आन्दोलन नछाडेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, “मैले एमाले पार्टी छोडे पनि कम्युनिष्ट आन्दोलन छोडेको छैन। ख्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरूमा सँगै काम गर्न पनि पर्न सक्नेछ।”
गत शुक्रबारको साँझ गौतमले नेकपा एमालेबाट राजीनामा दिएका हुन्।

