काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। भीषण वर्षाका कारण पहिरोमा परेर पर्वतमा मात्रै
शुक्रबार ११ जनाको ज्यान गएको बताइएको छ।
त्यस्तै घाइते हुनेमा ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।
यस अवधिमा ४४जना बेपत्ता भएका छन्। तीन हजार १८२ घर डुबानमा परेका छन्। ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार ३०३ वटा पशु मरेका छन्। एक हजार २६९ परिवारका ६ हजार १११ मानिस विस्थापित भएका छन्।
बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। वेपत्ता भएकाको खोजी भइरहेको छ।
क्षति न्यूनीकरण, उद्दार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

