काठमाडौं : नेकपा (एमाले)ले जयसिंह धामी बेपत्ता पारिएको दार्चुला घटनालाई सरकारले थामथुम पार्न खोजेको आरोप लगाएको छ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीद्वारा बिहीबार जारी विज्ञप्तिमा, महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको भन्दै सो घटनाका विषयमा छानबिन गर्न गठित समितिले अस्पष्ट प्रतिवेदन बुझाएको बताइएको छ। जारी विज्ञप्तिमा सरकार उक्त घटनालाई थामथुम पार्ने प्रयत्नमा लागेको उल्लेख गरिएको छ।
नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसकेको आरोप एमालेले लगाएको छ।
नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकारले संवेदनहीनता र लाचारी प्रदर्शन गरेको बताउँदै एमालेले खेद प्रकट गरेको छ।
विज्ञप्तिमा एमालेले सत्यतथ्य सार्वजनिक गर्न , दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ।

