काठमाडौँ — कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले निजी कुरा भुलेर वडादेखि केन्द्रसम्म सबल नेतृत्व चयन गर्न अपिल गरेका छन् । उनले पार्टीलाई अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा लैजाने र जनताको भरोसाको केन्द्र बनाउने नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।

पौडेलले बिहीबार भिडियो सन्देश जारी गर्दै कार्यकर्तालाई यस्तो आग्रह गरेका हुन् । ‘अहिले पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रका प्रति चिन्तावान् नेतृत्वको आवश्यकता छ । म सम्पूर्ण साथीहरूलाई अपिल गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरा बिर्सिएर हाम्रा अगाडि रहेका महान् लक्ष्यहरूलाई ध्यानमा राख्दै, हामीले गर्दै कठिन संघर्षलाई कसरी मूर्त रूप दिलाउने ? कसरी लोकतन्त्रलाई सस्थागत गर्ने ? कसरी यो देशको समृद्धिलाई अघि बढाउन कांग्रेसले सबल नेतृत्व हासिल गर्ने भन्ने विषयमा गम्भीर हुनका लागि, त्यहीअनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्नका लागि अपिल गर्दछु,’ उनले भनेका छन् ।

महामारी र बाढीपहिरोकै बीच महाधिवेशन प्रक्रिया सुरु हुन लागेको भन्दै पौडेलले त्यस्ता कठिनाइको सामना गर्दै व्यक्तिगत स्वास्थ्यलाई समेत ध्यान दिएर वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । ‘यो घडीमा स्वास्थ्य मापदण्डलाई पालना गरौँ । आफ्नो स्वास्थ्यको रक्षालाई विशेष ध्यानमा राखेर अधिवेशनमा सहभागी हुन विशेष अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार वडा तहको अधिवेशन हुँदै छ । कतिपय ठाउँमा क्रियाशील सदस्यहरूले सहमतिमा वडा अधिवेशनको प्रक्रिया पूरा गरिसकेका छन् भने कतिपय ठाउँमा शुक्रबार अधिवेशनको तयारी छ । कतिपय ठाउँमा भने आवश्यक तयारी पूरा नभएका कारण अर्को मिति तोकेर अधिवेशन गर्ने तयारी गरिएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार देशभर ५६ जिल्लामा वडा अधिवेशन गर्न लागिएको जानकारी दिएको छ । ‘शुक्रबार जहाँ तयारी भइसकेको छ, त्यहाँ अधिवेशन हुन्छ । त्यसबाहेकका ठाउँमा क्रमशः २७ भदौभित्र अधिवेशन गरिसक्ने तयारी छ,’ समिति सदस्य गोपालकृष्ण घिमिरेले भने ।स्रोत: कान्तिपुर।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *