काठमाडौँ — मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसकिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताले बिहीबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको हो । देउवालाई भेटेलगत्तै दाहालले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
दाहाल र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता चलिरहेको छ । भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धन दलहरूले सरकार गठनको ५१ दिन बित्दा पनि मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । शक्ति र साधनस्रोत बढी भएका मन्त्रालयमा सत्तारूढ दलहरूको दाबी र दलभित्रै आकांक्षीको ताँतीले भागबन्डामा शीर्ष नेताहरूलाई सकस परेको हो ।स्रोत: कान्तिपुर।

