काठमाडौँ — प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीशबाहेकको इजलासको गठनको माग गर्दै परेको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

अधिवक्ता दीपकविक्रम मिश्रले दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा भइरहेको छ । अधिवक्ता मिश्रले आफ्नो मुद्धा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम प्रधानन्यायाधीशबाहेकको इजलासको गठन माग गर्दै रिट दायर गरेका थिए ।
तत्कालीन सरकारले गत मंसिर ३० गते ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसैका आधारमा भएका नियुक्ति खारेज हुनुपर्ने माग गर्दै परेको रिटको पेसी संवैधानिक इजलासमा तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको उपस्थितिमै प्रश्न उठेपछि उनी इजलासबाट अलग भएका छन् ।
अध्यादेश जारी हुनासाथ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनले दुवै अध्यादेश खारेज र त्यसअनुसार भएका नियुक्ति बदर गर्न तीन वटा निवेदन दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि पहिलो पटक ल्याइएको अध्यादेश खारेज र नियुक्ति बदर गर्न माग गरेको निवेदन दर्ता गराएका छन् । प्रधानन्यायाधीशले यी रिट संवैधानिक इजलासमा पठाएका थिए, तर इजलासमा उनी पनि हुने भएकाले सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो ।

