काठमाडौँ : ऊर्जा मन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकबीच मङ्गलबार शिष्टाचार भेट भएको छ ।

राजदूत रुसेकसँगको भेटमा मन्त्री भुसालले नेपाल र जर्मनीबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ गहिरो हुँदै जाने विश्वास व्यक्त गरिन्। उनले वैकल्पिक ऊर्जा एवं प्रसारण लाइन निर्माण ,भूकम्पपछिको पुनःनिर्माण र कोरोना सङ्क्रमणको नियन्त्रणमा जर्मनीबाट भएको सहयोगप्रति आभार व्यक्त गरिन्।

मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोगलाई ठीक ढङ्गले उपयोग गरिने बताउँदै ऊर्जा क्षेत्रको विकासमा नेपालले जर्मनीसँग सहकार्य गर्दै जाने धारणा व्यक्त गरिन् ।

उक्त भेटमा राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

जर्मन सरकारको आर्थिक सहयोग रहेको चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणको प्रगतिबारे राजदूत रुसेकले जिज्ञासा पनि राखेका थिए । संसदमा पेश भएको विद्युत् विधेयकबारे समेत उनले चासो राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *