काठमाडौं : वाग्मती प्रदेश सरकार धरापमा परेको अवस्थामा छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेकाले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अफ्ट्यारोमा परेको हो।

केही दिनअघि मात्र वाग्मती प्रदेशमा एमाले नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी हुन् ।
हाल बदलिँदै गएको राजनीतिक अवस्थासँगसँगै
प्रदेशमा विपक्षी गठबन्धनमा आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ ।
निर्वाचन आयोगमा दर्ता भएको माधव नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई रोज्दै मङ्गलबार मात्रै वाग्मती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा एमालेका १२ जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् । यसपछि मुख्यमन्त्री शाक्यको पद धरापमा परेको हो ।
संविधानअनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । उनलाई प्रदेशमा सरकार जोगाउन ५५ सांसदको समर्थन आवश्यक पर्ने हुन्छ।
कुल १ सय ९ सदस्यीय वाग्मती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद रहेकामा १२ जना नेकपा
(एकीकृत समाजवादी) मा समाहित हुँदा एमालेमा ४४ जना बाँकी रहेका छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आबद्ध सांसदहरूको सङ्ख्या बढी हुने देखिन्छ ।

