logo

काठमाडौँ — भारतले नेपाललाई मेडिकल अक्सिजन प्लान्ट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीविरुद्धको लडाइँमा नेपालसँग हातेमालो गर्न भन्दै अक्सिजन प्लान्ट सहयोग गरिएको भारतीय राजदूत क्वात्राले बताए । उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोरोना महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकका रूपमा रहेको उनको भनाइ थियो ।

यो अक्सिजन प्लान्टले ९६० एलपीएम (लिटर प्रतिमिनेट) अक्सिजन उत्पादन गर्न सक्छ । ‘उत्पादित अक्सिजन प्रतिव्यक्ति ५ एलपीएमका दरले आपूर्ति गर्दा पनि यसबाट एकसाथ २ सय जना बिरामीलाई सेवा प्रदान गर्न सकिन्छ,’ उनले भने ।

राज्यमन्त्री श्रेष्ठले उपहारस्वरूप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारका रूपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोरोना महामारीविरुद्घको लडाइँमा थप बल पुग्ने बताए ।

उक्त अक्सिजन प्लान्ट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतले कोरोना महामारी सुरु भएदेखि नै नेपाललाई विभिन्न स्वास्थ्य सामग्री तथा खोप सहयोग गर्दै आएको छ ।स्रोत: कान्तिपुर ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *