logo

स्ट्राइकर रोमेलु लुकाकुले चेल्सीमा आफ्नो ‘दोस्रो डेब्यु’ सुखद पारेको दिन आइतबार थोमस टुचेलको टोलीले आर्सनललाई २–० ले हराएको छ।

गत सिजन म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको चेल्सीले इङ्लिस प्रिमियर लिग जित्ने उदेश्यले उत्कृष्ट लयमा रहेका लुकाकुलाई यस सिजनका लागि टोलीमा भित्र्याएकाे हो। चेल्सीले लुकाकुलाई क्लब कीर्तिमानी ९७ मिलियन पाउन्डमा अनुबन्धित गरेको हो।

प्रिमियर लिगका सुरुआती दुई खेलमा टुचेलको टोलीले शतप्रतिशत नतिजा ल्याउने क्रममा ५ गोल गरेको छ भने १ गोल पनि खाएको छैन। यता मिकेल अर्टेटाको टोलीले भने सुरुआती दुई खेलको समाप्तिमा न अंक जोड्न सकेको छ न त गोल खाता नै खोल्न सकेको छ।

‘आज हामीले आर्सनललाई पूर्ण रूपमा दबाबमा राख्यौं,’ लुकाकुले भने, ‘हामीलाई यो निकै महत्वपूर्ण खेल हो भन्ने थाहा थियो र हामीले अपेक्षाअनुसारकै प्रदर्शन गर्‍यौं। मैले पनि राम्रो खेलें। म टोलीका लागि केही फरक गर्न चाहन्छु। आशा छ, यो लयले आगामी खेलमा पनि निरन्तरता पाउनेछ।’

पछिल्लो १० दिनमा आर्सनलका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आफ्ना महत्वपूर्ण खेलाडीको अनुपस्थितिका कारण दबाबमा रहेका अर्टेटामाथि लगातार दोस्रो हारले दबाब थपिएको छ। चेल्सीविरुद्धको खेलअघि मात्र हालै टोलीमा अनुबन्धित भएका बेन ह्वाइटमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। आर्सनलले आगामी साता साबिकको विजेता म्यानचेस्टर सिटीको भ्रमण गर्दै छ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा करिब १७ महिनापछि पूर्ण क्षमतामा दर्शक उपस्थित थिए। खेलको सुरुआतबाटै चेल्सीले लय समाएको थियो। १५औँ मिनेटमा रेसी जेम्सको पासलाई लुकाकुले जाली चुमाउँदा चेल्सीले अग्रता लिएको थियो।

प्रिमियर लिगमा विभिन्न ४ क्लबबाट खेलिसकेका लुकाकुको यो १ सय १४औँ प्रियिमर लिग गोल हो। ३५औं मिनेटमा जेम्सले मासन माउन्टको पासको सदुपयोग गर्दैै चेल्सीको अग्रता दोब्बर पारेका थिए। ‘टोलीमा जेको कमी थियो, लुकाकुको आगमनले त्यसलाई पूरा गरिदिएको छ,’ टुलेचले भने, ‘टोलीको उत्कृष्ट सुरुआतले निरन्तरता पाइरहेको छ।’ स्रोत: नागरिक ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *