रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डो क्लबमा अनुबन्धित हुने चर्चा हल्ला मात्र भएको र फर्किने सम्भावना टरेको बताएका छन्।

स्पेनिस सञ्चारमाध्यमले रोनाल्डो स्पेनिस ला लिगा क्लब रियालमा फर्किने समाचार सार्वजनिक गरे पनि मंगलबार प्रशिक्षक एन्सेलोट्टीले त्यसको खण्डन गर्दै रोनाल्डोको फर्किने सम्भावना नरहेको बताएका हुन्। स्पेन फर्किने चर्चा चलेसँगै स्ट्राइकर रोनाल्डोले यसअघि सामाजिक सन्जालमार्फत अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका थिए। २०१३ देखि २०१५ सम्म पहिलो पटक रियालका प्रशिक्षक एन्सेलोट्टी पोर्चुगलका स्ट्राइकर रोनाल्डोको खेललाई सम्मान गर्नेमध्येका हुन्। उनै एन्सेलोट्टीले रोनाल्डो आउने चर्चा त्यहाँका सञ्चारमाध्यममा मात्र रहेको भन्दै खण्डन गरेका हुन्। ‘क्रिस्टियानो रियालका लिजेन्ड खेलाडी हुन्।
उनले लामो समय टोलीलाई योगदान गरेका छन्। सोही कारण उनीप्रति मेरो धेरै सम्मान छ र मैलै माया गर्ने खेलाडी हुन्,’ रियालका प्रशिक्षक एन्सेलोट्टीले सामाजिक सन्जाल ट्विटरमा भनेका छन्, ‘लामो समय क्लबमा खेलिसकेका उनलाई अबको अवस्थामा अनुबन्धित गर्नु त्यति उपयुक्त हुँदैन। किनभने अब हामी क्लबको भविष्य हेरेर अगाडि बढ्नुपर्छ।’ २०१८ मा रियालबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित ३६ वर्षीय रोनाल्डोको आगामी वर्ष जुनसम्म सम्झौता रहेको छ। यद्यपि स्पेनिस सञ्चारमाध्यमले क्लबले फर्काउन चाहेको भन्दै समाचार लेखेका थिए।
२००९ देखि २०१८ सम्म रियालबाट खेलेका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका छन्। लगातार चर्चामा रहिरहने रोनाल्डोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत चर्चाको विषय खण्डन गरेका छन्।
‘मलाई जतिले चिन्नुहुन्छ उहाँहरूलाई थाहा छ, म आफ्नो काममा कति धेरै केन्द्रित हुने गर्छु। म कम कुरा गर्छु, धेरै काम गर्छुं, जुन मेरो खेलजीवनको सुरुदेखिकै नीति हो। तर पछिल्लो समय मेरा बारेमा जे चर्चा चलेका छन्, व्यक्तिगत विषयलाई नउठाउन म आग्रह गर्छु,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरोबारे धेरै चर्चा गर्नु भनेको खेलाडीका रूपमा मेरो अपहेलना हो। रियालमा फर्किने विषय हल्ला मात्र हो।’ रोनाल्डोले रियालमा आफ्नो कथा लेखिसकेको र अझै पनि त्यहाँका समर्थकको मनमस्तिस्कमा रहेको पनि दाबी गरेका छन्। रोनाल्डोले आफू धेरै नबोल्ने व्यक्ति भएको भन्दै अनवाश्यक टीकाटिप्पणी नगर्न आग्रहसमेत गरेका छन्।
‘आज म मेरो धैर्यता तोड्दै भन्छु, कसैलाई पनि मेरो नाम बेच्ने अधिकार छैन र म त्यसो गरेको सहन्नँ पनि। म आफ्नो खेलजीवन र काममै केन्द्रित हुन चाहन्छु,’ रोनाल्डोले थपे। यस्तै रियालमा पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एम्बाप्पे अनुबन्धित गर्ने चर्चा पनि चलिरहेको छ। नयाँ सिजनको पहिलो खेलमा रियालले आल्भेजलाई ४–१ ले स्तब्ध बनाउँदै लिगको सुरुआत गरेको छ।अब रियालले आइतबार लेभान्टेको मैदानमा आतिथेय गर्नेछ। स्रोत: नागरिक ।

