पछिल्लो ६ महिनाभित्र न्युजिल्यान्डमा एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । तर, न्युजिल्यान्ड सरकारले संक्रमित फेला परेको सहर अकल्यान्डभर एक साताको लकडाउन घोषणा भएको छ । कोरोना भाइरस रोकथाम र आफ्ना नागरिकप्रति न्युजिल्यान्ड सरकार कति सचेत छ भन्ने यो मननीय उदाहरण हो ।
न्युजिल्यान्डका अधिकारीहरूका अनुसार अकल्यान्डका एक व्यक्तिमा डेल्टा भेरियन्ट देखिएको छ । ५८ वर्षीय ती व्यक्ति एक सातादेखि बिरामी थिए । सोमबार उनको रगत परीक्षण गर्दा डेल्टा भेरियन्ट भाइरस पुष्टि भएको हो । त्यसपछि तत्कालै सरकारले अकल्यान्डमा लकडाउन घोषणा गर्यो ।

न्युजिल्यान्डमा २० प्रतिशत नागरिकाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । यस्तै ३३ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । यहाँको कुल जनसंख्या ५० लाख हो ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले लकडाउनभर देशभरका स्कुल, अफिस, व्यापारिक केन्द्र तथा कार्यालयहरू बन्द हुनुपर्ने बताएकी छिन् । न्युजिल्यान्डलाई डेल्टा भेरियन्टबाट रक्षा गर्न लकडाउनबाहेक अन्य विकल्प नभएको उनले बताएकी छिन् । ‘म न्युजिल्यान्डका सबै क्षेत्र सुरक्षित भएको हेर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘अहिलेको अवस्था पहिलाभन्दा डरलाग्दो छ, यसकारण सबैले यसपटक पनि धैर्यका साथ सरकारले जारी गरेको नियम पालना गर्नुहोला ।’ सरकारी मिडियाअनुसार अकल्यान्डमा डेल्टा भेरियन्ट फेला परेपछि २३ स्थानमा कन्ट्याक्ट टे«सिङ सुरु भएको छ ।
न्युजिल्यान्डको स्वास्थ्य विभागले अकल्यान्डमा डेल्टा भेरियन्ट फैलन नदिन सबै किसिमका संयन्त्र अपनाएको जनाएको छ । संक्रमित व्यक्ति वा शंकास्पद व्यक्तिका निमित्त सरकारले नै क्वारेन्टिनको व्यवस्था गरेको विभागको भनाइ छ ।
विभिन्न देशमा डेल्टा भेरियन्ट न्युजिल्यान्डमा हालसम्म देखिएको थिए । यसकारण न्युजिल्यान्ड सरकारले अगाडिदेखि नै तयारी गरेको प्रधानमन्त्री जेसिन्डाले बताइन् । ‘यो भेरियन्टविरुद्ध लड्न हामी पहिलादेखि नै तयारी थालेका थियौँ, यदि हामीले सुरुमै कडा नियम पालना गर्न सक्यौँ भने भविष्यमा यसले राम्रै नतिजा दिन्छ,’ प्रधानमन्त्री जेसिन्डाले भनिन् । न्युजिल्यान्ड सरकारले अन्तर्राष्ट्रिय सीमाना बन्द गरेको छ । न्युजिल्यान्डमा अहिलेसम्म दुई हजार नौ सय २६ जना संक्रमित भएका छन् । जसमध्ये दुई हजार आठ सय ५७ जना निको भएका छन् । कोरोनाका कारण यहाँ २६ जनाले ज्यान गुमाएका छन् । स्रोत: नया पत्रिका ।

