काठमाडौं : राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरबीच पनि रु दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ। ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौँ’नामक होटलमा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को लगानी रहेको छ। विश्वका ८० देशमा तारे होटल सञ्चालन गर्दै आएको रमदा इन्कोर बाई वाईनहेमले पहिलो पटक आफ्नो शाखा नेपालमा पनि संचालनमा ल्याएको हो ।

नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन्। निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ। यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो।
पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन्। यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन्। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ।स्रोत: अन्नपुर्ण पोष्ट।

