एजेन्सी :
पाकिस्तानको कराँचीमा ग्रिनेड आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ भने धेरै सङ्ख्यामा घाइते भएका छन्।

आक्रमण शनिबार बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो। प्रहरीले
त्यस आक्रमणमा ग्रिनेड प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानका आधारमा बताएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले सो घटना आतंकवादी हमला हुन सक्ने बताउँदै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेको बताएका छन्। उनले अहिले नै खास कुरा भन्न नसकिने पनि बताएका छन्।
आतंकवाद विरोधी विभाग (सीटीडी) का वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरु मोटरसाइकलमा आई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनले ग्रिनेड आक्रमण भएको चाहिँ अनुसन्धानका आधारमा किटान गरेका छन्।
सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

