blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर तीब्र बढेपनि लक्षण देखिएका शंकास्पद बिरामीले नै रोग लुकाउने गरेका छन् । सम्बन्धित बिरामी र परिवारका सदस्यले रोग लुकाउन थालेपछि  कोरोना भाइरस गाउँ तहसम्म भित्रभित्रै फेरि फैलिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमण दर असार मध्यतिर १ हजार बढीबाट २  सयमा झरेको थियो। त्यसपछि कोरोना नियन्त्रण उन्मुख देखिएर लकडाउन खुकुलो बनाइएको थियो । तर, यही अवधिमा कोरोना संक्रमण दर बढेर अहिले ७ सय २०  पुगिसकेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताउँछन् ।

उनका अनुसार जिल्ला सदरमुकाम समेत रहेको बागलुङ नगरपलिकामा मात्रै ३ सय ३६ जना सक्रिय संक्रमित छन् । जिल्ला सदरमुकाम बागलुङ बजार, रामरेखा, उपल्लाचौरसहित बलेवाको अमलाचौर, नारयणस्थान तथा पैयुँपाटामा संक्रमण दर उच्च छ ।

कोरोना संक्रमण दर बढ्दै जान थालेपछि बिहीबारदेखि जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका साथै स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकामसहित अन्य पालिकामा संक्रमण रोक्न परीक्षणलाई तीब्र बनाउने प्रयास गरे पनि शंकास्पद बिरामी समेत पीसीआर परीक्षणमा नआउँदा समस्या र थप संक्रमणको खतरा बढेको छ ।

बागलुङ नगरपालिकाको नगर स्वास्थ्य शाखाले १० दिनको अवधिमा नगरपालिकाभित्र कोरोना संक्रमण दर आधा घटाउने रणनीति बनाएको छ । जस अनुसार कोरोनाको ‘चेन ब्रेक’ गर्न १० दिनको अवधिमा हरेक दिन १ सयका दरले एक हजार जनाको पीसीआर र एन्टिजेन गर्ने योजना बनाए पनि पहिलो दिनमा जम्मा १२ जना मात्रै पिसिआर परीक्षणका लागि आएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

शंकास्पदको परीक्षण गर्दा अन्यमा कोरोना फैलन कम हुने भए पनि परीक्षणमै नआउँदा कोरोना रोकथाम र नियन्त्रणमा समस्या भएको खनालको भनाइ छ । ‘कोरोनाको शंकास्पद लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई सूचना जारी गरेर परीक्षणका लागि बोलाएका छौं’, उनले भने, ‘तर शंकास्पद बिरामीले समेत परीक्षण गर्न मानेका छैनन्, कन्ट्रयाक्ट ट्रेसिङको त कुरै छाडौं, पहिलो दिन १ सय जनाको गर्ने लक्ष्य रहेकोमा जम्मा ६ जनाको पीसीआर र ६ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।’

बागलुङ नगरपालिकाका साथै अन्य पालिकामा समेत कोरोनाको लक्षण देखिएकाले समेत परीक्षण गर्न नमान्ने गरेको स्वास्थ्य कार्यालय बागलुङका कोडिभ फोकल पर्सन घिमिरे बताउँछन् ।कोरोना लागेकाले परीक्षणमा चासो नदिँदा धेरैलाई सर्ने जोखिम देखिएको छ । स्वयंम् आफू र परिवारको सुरक्षाका लागि पनि कोरोनाको समयमै परीक्षण र उपचार गर्न जरुरी भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेल बताउँछन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को कडा लकडाउन सँगै पिसिआर परीक्षणको दायरा बढाएर १० दिनको अवधीमा ५० प्रतिशत कोरोना संक्रमण घटाउने लक्ष्य छ । नागरिक सचेत र जिम्मेवार नभएसम्म कोरोना रोकथाम र नियन्त्रण सम्भव नहुने डा.शैलेन्द्र बताउँछन् । जिल्लामा अहिले सक्रिय संक्रमित ७ सय २० पुगेको छ भने ६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *