काठमाडौं : सरकारले आन्तरिक राजस्वको दर दोब्बर बनाउन निर्देशन दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले हालको आन्तरिक राजस्व दरबाट मुलुकको विकास सम्भव नभएकाले दोब्बर बनाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका हुन्।

आन्तरिक राजस्व विभागमा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने गरी नयाँ कार्ययोजना प्रस्ताव गर्न निर्देशन दिएका हुन्। करदातालाई कानुन लगाएर कर तिराउनुभन्दा करदाता आफैंले कर तिरुँ तिरुँ लाग्ने संस्कृतिको विकास गर्ने खालको योजना बनाउन निर्देशन दिए।

अर्थसचिव मधुकुमार मरासिनीले राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए। २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क प्रस्तुत गर्दै मरासिनीले यसलाई व्यवस्थित गर्न बिलिङ सिष्टममा एकीकृत गर्न आग्रह गरे।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए। गत वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो। आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४ सय ५० अर्बको लक्ष्य तोकिएकोमा ४ सय २९ अर्ब संकलन भएको छ। स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *