Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

काठमाडौँ, साउन २६ गते । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि रु पाँच अर्ब निकासा गरेको उल्लेख गर्नुभयो ।

संविधान प्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरु निरन्तर लागि पर्ने बताउनुभयो ।

पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गर्नुभयो । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ ।

विप्रेषणलाई मुलुकको अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले उपभोग्य क्षेत्रमा खर्च हुँदा त्यसले नकारात्मक प्रभाव पारेको बताउनुभयो । सार्वजनिक संस्थामा गरेको लगानीको प्रतिफल न्यून रहेको जानकारी दिँदै अर्थमन्त्रीले ती संस्थाको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभर १८।७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । आयोजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उहाँले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशी त्यसको उदाहरण भएको उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको अर्थमन्त्रीको भनाइ थियो ।स्रोत: गोरखापत्र अनलाइन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *