तालिबान विद्रोही समूहले अफगानिस्तानको दक्षिण पश्चिमी भागमा पर्ने निमरोज प्रान्तको राजधानी जारान्ज कब्जा गरेको छ । विद्रोहीहरुले शुक्रबार साँझ उक्त राजधानी कब्जा गरेका हुन् ।

तालिबानले सहरमा विजय हासिल गरेको ट्वीटरमार्फत जानकारी गराएको छ । तर अफगान सरकारले भने यस कुरालाई स्वीकार गरेको छैन।
बीबीसीका अनुसार तालिबान लडाकुले अफगानिस्तानका कैयौं ग्रामीण क्षेत्रहरुलाई कब्जामा लिँदैआएको छ। राजधानी नै कब्जामा लिएको भने यो पहिलो घटना हो।
सामाजिक सञ्जालमा सेयर गरिएको फोटोमा सर्वसाधारणले सरकारी भवनमा लुट मच्चाइरहेको देख्न सकिन्छ ।
पश्चिममा रहेको हेरात र दक्षिणमा रहेको लश्कर गाहमा पनि अहिले तालिबान र सरकारी फौजबीच भिडन्त जारी रहेको छ ।
अमेरिकी सेना फिर्ता भएपछि तालिबान विद्रोहीहरुले अफगानिस्तानमा कब्जा जमाउने कार्यलाई तीव्रता दिएका छन् । ग्रामिण क्षेत्रमा प्रभाव जमाइसकेको तालिबानले यतिबेला देशका मुख्य सहरहरुलाई निशाना बनाइरहेको छ । यस क्रममा निमरोज प्रान्तको राजधानी जारान्ज कब्जामा गर्न पुगेको हो। जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र हो ।

