काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना रहेको बताएका छन् ।

विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भएर हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताए ।
अवलोकनपछि सभामुख सापकोटाले भने, “संसद् भवनको संरक्षण आवश्यक छ, प्राविधिक टोलीसँग छलफल गरी आवश्यक कदम चाल्छौँ। सङ्ग्रहालयसँगै यसलाई पुस्तकालयका रुपमा समेत विकास गर्नुपर्छ ।”
सङ्ग्रहालय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले यसबारे आवश्यक अध्ययन गरी प्रक्रिया अघि बढाइने बताउँदै उनले पुरानो संसद् भवनबारे विभिन्न किसिमका सुझाव प्राप्त भएको र ती सबै विषयमा छलफल गरी ठोस निर्णय गरिने उल्लेख गरे ।
“सम्बद्ध पक्षसँग छलफल चलाउँछु, पूरै पुनःनिर्माण गर्ने की जीर्णोद्धार मात्र गर्ने भन्नेबारे चाँडै निर्णय गरिने छ”, सभामुख सापकोटाले भने ।
सभामुख सापकोटाको सोमबारको अवलोकन भ्रमणपछि सो जीर्ण भवनबारे ठोस कदम चालिने विश्वास पलाएको छ।

