काठमाडौं : सत्ता गठबन्धन कार्यदलको बैठक सकिएको छ । बालुवाटारमा आज बसेको बैठक सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रित भएको थियो ।

कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले भने, “न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर आज निष्कर्षमा पुग्न सकिएन। भोलि बस्ने गरी आजको बैठक सकिएको हो। त्यसैले भोलिको बैठकमा यी सबै विषय टुङ्ग्याइने छ ।”
शेरबहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।
सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिनेदेखि सरकारका साझा कार्यक्रम दिन सकेका छैनन् ।
त्यसैले न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलाई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

