काठमाडौँ : मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।

दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थी संगठन ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’को ब्यानरका साथ प्रदर्शनमा उत्रिएको थियो ।
उनीहरुले उक्त घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि हुने गरेको जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दु:खद रहेको उनको भनाइ छ ।

