काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे सोमवार २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले खोप आयात, भण्डारण र कोभिड-१९ का सङ्क्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी असोज मसान्तसम्म दुई करोड मात्रा खोप ल्याइने भएकामा ९७ लाख ८२ हजार खोप प्राप्त भइसकेको र थप एक करोड दुई लाख खोप खरिद गरिने राज्यमन्त्री श्रेष्ठले उल्लेख गरे ।
खरिदमार्फत भेरोसेल ६० लाख मात्रा, १० लाख कोभिसिल्ड (यसअघि खरिद गरिएको), अनुदानमार्फत जापानबाट एस्ट्राजेनिका १६ लाख मात्रा र चीनबाट १६ लाख भेरोसेल आउन बाँकी छ । मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागिमतामा एक करोड ५० लाख खोप ल्याइने बताए । लागत सहभागितामा ४० लाख मात्राको भुक्तानी भइसकेको र एक करोड १० लाख मात्रा खोपको भुक्तानी प्रक्रियामा छ ।
यसैगरी १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ६० लाख फाइजर खोप पनि ल्याइने छ । उनका अनुसार कूल तीन करोड २३ लाख मात्रा खोपका लागि खरीद प्रक्रिया शुरु भएको छ ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बालबालिकाका लागि ४० लाख मात्रा मोर्डना खोप, ‘जोन्सन एण्ड जोसन्न’ ५० लाख मात्रा र फाइजर ४० लाख मात्रा र एस्ट्राजेनिका २० लाख मात्रा खरीदका लागि प्रक्रिया शुरु गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
अबको दुई हप्तामा भेरोसेल १६ लाख मात्रा र एस्ट्राजेनिका १६ लाख आउने र आगामी माघसम्ममा तीन करोड २३ लाख मात्रा खोप आउने उनले जानकारी दिए । बिपी अस्पताल र वीर अस्पतालमा सार्वजनिक भएका घटना समाधानका लागि छुट्टाछुट्टै कार्यदल बनाएर काम अघि बढाइएको र बिपी अस्पतालमा आन्दोलन स्थगित गर्न निर्देशन दिइएको र वीर अस्पतालमा देखिएका समस्या पनि चाँडै समाधान गरिने उनको भनाइ थियो ।
विदेश जाने प्रयोजनका लागि खोप लगाएकाको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइने, कोभिड-१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पिपिइलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको जनाइएको छ ।
अतिरिक्त जनस्वास्थ्यकर्मी परिचालन गरी कोभिड-१९ को एन्टिजेन र पिसिआर परीक्षणको दायरा विस्तार गरिने कोभिड-१९ को उपचारका लागि अस्पतालमा रिक्त श्ययाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिने भविष्यमा आइपर्न सक्ने तेस्रो लहर विरुद्ध समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने भएको छ ।

