काठमाडौं : नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता तथा सांसद् चौधरीले सो कुरा व्यक्त गरेका हुन्।

चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने अवस्था आउनसक्ने बताए ।

उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भइराख्ने हो भने हामी आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं । एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ ।’

नेता चौधरीले भने,’तर हामी यो रिस्क मोल्न चाहँदैनौं । त्यसैले फेरि पनि बृहत् टाईपको कम्युनिष्ट पार्टी निर्माण गर्न नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु र नेपालको कम्युनिष्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवसमेतको पार्टीबीच एकता गर्नुपर्छ। र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी निर्माण गरी मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’

चौधरीले एमाले पार्टीलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साइनो-सम्बन्ध राख्न नहुने बताए । उनले भने,‘अब तपाईँहरु हेर्दै जानुहोस, संसदीय दलभित्र पनि केही दिनभित्र हामी त्यो खालको वातावरण बनाउनेछौं । केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रो बीचमा त निकै थोरै सङ्ख्यामात्रै तलमाथि हो । त्यसभित्र पनि एकखालको माहोल बन्दै छ। यदि त्यो पोजिसनमा हामी पुग्यौं भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ ।हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं ।’

उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र उनलाई रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन नसके एउटा प्रोसेसमा पुग्नैपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाइने संकेत गरे ।‘यो साथसाथै कोही सुरुमै आउनुहोला, कोही पछि पछि आउनुहोला, कोही एक वर्षपछि आउनुहोला, कोही निर्वाचन ताका आउनुहोला, तर यो प्रोसेसमा चाहीँ हामी छौं, अगाडि बढ्छौं,’चौधरीले बताए।

उनले पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे । यसअघि केपी ओली नेतृत्वको सरकारले यस्तो अध्यादेश ल्याउँदा आफूहरुले त्यसको घोर विरोध गरेको चौधरीले स्मरण गराए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *