काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि वरिष्ठ नेता माधवकुमार नेपालका लागि अब पार्टीमा कुनै स्थान छैन भन्ने अभिव्यक्ति दिएका छन्।

शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालका लागि पार्टीमा स्थान नभएको बताएका हुन् ।
ओलीले भने, ‘वामपन्थीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे । माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधीलाई पार्टीमा कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे।’
‘अरु साथीहरु महसुस गरेर फर्कनहुन्छ भने हामी तयारै छौं। आउनुस् ,यो पार्टी हामी सबैले बनाएका हौँ , गल्ती भइहाल्यो भने पनि क्षमा गरौंला,’ उनले भने।
ओलीले नेपाल बाहेकका नेताहरुलाई एमालेमा फर्काउन संवाद भइरहेको समेत बताए। आउन चाहनेलाई स्वागत गर्न आफू तयार रहेको तर पार्टीमा फर्काउनकै लागि आफू नरोकिने पनि बताए।

