काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) काे केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।

बिहीबार तुलसीलाल अमात्य स्मृति भवनमा बसेको बैठकले सो कार्ययोजना पारित गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले अभियान भदाै १ गतेदेखि मङ्सिर २९ मसान्तसम्म चल्ने बताए । उनले यस अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी काम गर्ने बताए।
‘सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भदाै १ गतेदेखि मङ्सिर मसान्तसम्म चार महिना चल्नेछ,’
प्रवक्ता खतिवडाले भने, ‘यस अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी मुख्य चार वटा काम गर्नेछौँ ।’
बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशाससम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी , सदस्यहरूमा प्रकाश अधिकारी,सुशीला श्रेष्ठ, गोविन्द चौधरी र दुर्गा सोबलाई चयन गरिएको छ।
केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय पार्टीले गरेको छ ।
बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको नामको टुङ्गो लगाउने भनिए पनि बैठकले त्यसबारे टुङ्गो लगाउन भने सकेन ।

