काठमाण्डाै : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच शुक्रबार भेटवार्ता भएको छ। भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउनु पर्ने कुरा राख्दै ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बीआरआई) को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।

चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनुपरेको कुरामाथि प्रकाश पार्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरिन् ।

चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट पनि गरिन्।

भेटमा चिनियाँ राजदूत याङ्छीले विकासका लागि अत्यन्त महत्त्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त देश भएको बताउँदै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । साथै, उनले चीन नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् ।

चिनियाँ पावर कन्स्ट्रक्शन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्री ‘ए’ लगायत आयोजनामा काम गर्दै आएको बताउँदै राजदूत याङ्छीले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *