काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई काबिल सहयोगी छान्न सुझाव दिएका छन्। मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् ।

विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन। सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित तथा सिर्जनात्मक चाहिन्छ।’
कार्यक्रममा बोल्दै नेता नेपालले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको औँल्याए।साथै, बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न सबैलाई आग्रह गर्दै प्रकृतिको रक्षा गरे मात्र मानव जीवनको रक्षा हुने उनले बताए।

