काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील छानबिन समितिले केही विवाद पूर्ववत् अवस्थामै राखी प्रतिवेदन बुझाएको छ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले फाइनल प्रतिवेदन बुझाएका हुन्।
छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले अब निर्वाचन समितिले काम छिटो गरेमा तोकिएको समयमै महाधिवेशन हुने बताए।
‘प्रतिवेदनमा भएका केही त्रुटि थप सच्याएर बुझाएका छौं, अब समितिको काम सकिएको छ,’ पौडेलले भने।
‘१०० जति वडाको क्रियाशील स्थगन भएको छ। ९६ प्रतिशत काम सकिएको छ।चार प्रतिशतले महाधिवेशन स्थगन हुँदैन,’ पौडेलले भने, ‘अब निर्वाचन समितिले छिटो काम गर्नुपर्छ।’
केही जिल्लाको विवाद यथावतै राखेर सभापति देउवालाई मङ्गलबार समितिले प्रतिवेदन बुझाएको थियो। उक्त विवाद पूरै मिलाएर प्रतिवेदन बुझाउन आजसम्मको समय दिइएको थियो। तर समितिले केही त्रुटिमात्र सच्चाएर प्रतिवेदन बुझाएको छ।

