३२ औँ ग्रिष्मकालीन ओलम्पिक अहिले जापानको टोकियोमा चलिरहेको छ । ओलम्पिक चलिरहँदा टोकियोमा एकै दिनमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेका छन् । टोकियोमा बुधबार एक दिनमा नै ३ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टोकियोमा एकै दिन फेला परेका संक्रमितहरुको हालसम्मकै उच्च रेकर्ड रहेको टोकियो महानगरले जनाएको छ ।

ओलम्पिक जारी रहेको अवस्थामा मंगलबार पनि २ हजार ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोमा ओलम्पिक जारी रहँदा दिनानुदिन संक्रमितको संख्या पनि बढ्दै गएको छ । दिनमा नै यति धेरै दैनिक अत्यधिक मात्रामा संक्रमितको संख्या बढ्नुमा ओलम्पिकको प्रभाव रहेको टोकियो महानगरले जनाएको छ ।

ओलम्पिकका खेलका लागि उपस्थितहरुको चहलपहलका कारण संक्रमणदर बढेको हो । २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोना भाइरस महामारीका कारण सरेर अहिले भएको हो । टोकियोमा बढेको चहलपहल तथा संक्रमण दरले टोकियोमा यसवर्ष पनि महामारी थप बढ्ने संकेत देखाएको छ ।

जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मको लागि चौंथो चरणको संकट घोषणा गरेको छ ।टोकियोका बार तथा रेस्टुरेन्टहरुमा मादक पदार्थ बिक्रि वितरण गर्न प्रतिबन्ध लगाइसकेको छ । टोकियो सहरमा बेलुका पसलहरु बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ओलम्पिक खेलकुद प्रतियोगिताका लागि टोकियोमा लाखौँ खेलाडी, पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरुको उपस्थिति रहेको छ । टोकियो ओलम्पिकमा सहभागीमध्ये अहिलेसम्म १७४ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *