काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा केही बेरअघि सुरु भएको छ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको सदस्यतामा देखिएका विवाद समाधानबारे छलफल हुँदै छ ।
यस्तै पार्टीको १४औं महाधिवेशनका लागि नयाँ संसोधित कार्यतालिका ल्याउने तयारी बैठकको छ । स्रोतका अनुसार भदौ पहिलो साता वडा अधिवेशन सुरु गर्ने गरी कांग्रेसले अधिवेशनको मिति तोक्न लागिएको हो ।
यसै गरी केन्द्रको महाधिवेशनको मितिका विषयमा भने उच्च तहमा छलफल जारी छ । तर भदौ र असोजमा सबै तहका अधिवेशन सकेर कार्तिकमा केन्द्रीय महाधिवेशन गर्ने सभापति देउवाको तयारी रहेको बताइएको छ ।
बैठकमा बिहीबार विस्तार गर्ने तयारी रहेको मन्त्रिपरिषदमा पार्टीका तर्फबाट पठाउने नामावलीका विषयमा समेत छलफल हुने बताइएको छ । तर प्रधानमन्त्री देउवाले नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेर नाम माग्ने तयारी गरेको हुनाले नामावलीका विषयमा बैठकमा सामान्य चर्चामात्र हुन सक्ने बताइएको छ।

