काठमाडौं : सोमबार निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि मङ्गलबार अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले आयोगमा सनाखत गर्दा ठाकुर पक्षमा उभिने सबै र तटस्थ बसेका रेशम चौधरीलाई कारबाही गरेको छ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निष्कासन गरेको हो ।
निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसे।
ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।
यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।

