प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन्। उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन्। ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताएका हुन्। दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन्।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ। विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आएका छन्। एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ। यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ। विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ।

नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टले ओली नरम भएका र निकै सच्चिएको बताउँदै आएका छन्। तर, ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भनेका थिए। त्यसबाट नेता नेपाल झनै आक्रोशित भएका छन्। नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको उक्त अभिव्यक्तिको विरोध गरेका थिए। त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिएका थिए।

माफी आफूहरूलाई होइन, प्रतिनिधिसभा विघटन गरेकोमा ओलीले नै माफी माग्नुपर्ने नेपाल भनाइ छ। नेपालले आफू नेतृत्वबाट अवकाश लिन तयार भएको र अरू कसैले नेतृत्व लिए हुन्छ भन्ने धारणा पनि आफू पक्षीय नेताहरूको बैठकमा राखेका थिए। तर, ओलीलाई टक्कर दिन अरूले नसक्ने हुनाले नेपालले नै जिम्मेवारी लिनुपर्ने धारणा पनि बैठकमा सहभागीहरूले राखेका थिए।

नेपालले कम्युनिस्ट पार्टीमा विगतमा केशरजंग रायमाझी, तुल्सीलाल अमात्य र पुष्पलाल श्रेष्ठको जस्तै तीन नेताको सचिवालय बनाउन पहल गर्नसमेत दोस्रो पुस्ताका नेताहरूलाई सुझाएका छन्। तीन सदस्यीय सचिवालयमा ओली, खनाल र वामदेव गौतमलाई सहभागी गराउन सकिने उनको सुझाव छ। ‘मलाई कुनै पद चाहिएको छैन,’ नेपाललाई उद्धृत गर्दै एक नेताले भने, ‘मैले पद खोजें भन्ने भ्रम सिर्जना गरिएको छ, म अलग्गै बसेर अगाडि बढ्न पनि तयार छु।’ आजको नागरिक बाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *