काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सत्तारुढ गठबन्धन नछाड्न दोहोरो दबाब परेको छ ।

शनिबार नेपाल पक्षका सांसदहरुसँग छलफल हुँदा केपी ओलीलाई अध्यक्ष मानेर पार्टी एकता नगर्न दबाब दिइएको छलफलका एक नेताले बताए । नेपालले पनि आफू १० बुँदे सहमतिको आधारमा एकतामा जान नसक्ने बताएका छन् ।
नेपाल पक्षका २२ जना सांसदहरूले आफैंले बनाएको गठबन्धन नछाड्न नेपाललाई दबाब दिएका छन् । साथै उनीहरुले सरकारमा सहभागी हुनुपर्ने तर त्यसअघि दलको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।
आफू निकट सांसदहरुसँगको छलफलपछि शनिबार साँझ नेता नेपाल सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । नेपाललाई गठबन्धनका शीर्ष नेताले पनि सरकारमा सहभागी हुन र त्यसका लागि आवश्यक कानुनी बाधा फुकाउन सघाउने बताए।
नेपाल दैनिकजसो देउवा र प्रचण्डसँग छलफलमै छन् । अहिले गठबन्धनले सबैभन्दा बढी नेता नेपाललाई नै महत्व दिएको छ र माधव नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छ । तर एमालेभित्र ओली र नेपालबीच वार्ता गराएर पार्टी जोगाउनुपर्छ भन्ने प्रयास पनि
एकातर्फ जारी छ ।

