काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद टुङ्ग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत लिन लागेको छ। दुवै पक्षका नेताले छुट्टिने सहमति गरेका कारण आयोगले सनाखत लिन लागेको हो।

यसका लागि आयोगले दुवै पक्षका नेतालाई सोमबार नागरिकतासहित उपस्थितिका लागि बोलाएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद भएपछि दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका छन्। यादव पक्षले आफ्नो पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएको दाबी गर्दै निर्वाचन आयोग गएको थियो। त्यसै गरी ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने दाबी गरिरहेको छ। विवाद टुङ्ग्याउन आयोगले साउन ११ गते आयोगमा सनाखतका लागि उपस्थित हुन भनेको थियो।

