काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति धेरै अफ्ट्यारो मोडमा पुगेकाले यसलाई सच्याउन गार्हो भएको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।
‘पार्टी विरोधी गतिविधि गरेकाहरू अहिलेसम्म सफल छन् । पार्टीलाई सरकारबाट ढाल्न प्रतिगमन गराउन सफल भए, अब देश धेरै अप्ठेरो मोडमा पुगेको छ,’ ओलीले भने, ‘यो प्रतिगमन सच्चिन सजिलो छैन, धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ, देश अप्ठेरो मोडमा पुगेको छ ।’
ओलीले पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमनको मार्गमा सफल भएको बताए । उनले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन् ।
पार्टीमा अपराध कर्मको नेतृत्व गरेका नेता फर्किनेमा आशा नगरेको भन्दै ओलीले भने, ‘प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरी सरकार ढाल्ने कर्म गरेको देखिरहेका छौँ ।’
‘केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिँदै
उनले भने, ‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ। साथीहरू पार्टीले क्षमा गर्छ, पार्टीमा फर्किनुस् ।’
ओलीले देशको सबभन्दा ठूलो जनसंख्या नेकपा एमालेको साथमा रहेको भन्दै वैचारिक बहसमा उत्रिन आग्रह गरे ।

