काठमाडौं : नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शनिबार बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने उनले बताए। कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो।

केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो। पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा केन्दीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो।

गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो।

संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ.

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *