साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर ३००० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि ११ अर्ब नाघेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९ अंकको करेक्सन भएको बजार यस दिन करिब १९ अंक बढेको छ। बिहीबार नेप्से परिसूचक १८.७५ अंक बढेर ३००४.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०६ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंक बढेको छ।

यस दिन २२२ कम्पनीको १ लाख १४ हजार ७७२ पटकको कारोबारमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

यस दिन मूल्य बढ्ने १० शीर्ष कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्ड र जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लक्ष्मी उन्नती कोष, ङादी ग्रुप पावर, सिईडिबी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पोखरा फाइनान्स र लक्ष्मी इक्वीटी फण्डको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको गिरावटदर भने ५ प्रतिशतभन्दा कम छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.७२ प्रतिशत र वित्तको १.५२ प्रतिशत बढेको छ। यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया र नेपाल बैंकको ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *