काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लामो संघर्षबाट बनाएको पार्टीलाई त्यतिकै छोडेर जान नसकिने र अपमान सहेर बस्न पनि नसकिने कुरा बताएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता नेपालले भने, ‘लामो संघर्षबाट बनाएको पार्टीलाई छोडेर त्यत्तिकै कोही बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’
‘अरूको अपमान गर्ने मान्छेले समाजको पनि अपमान गर्छ, त्यस्तालाई कुसन्तान भनिन्छ, त्यस्तालाई निरुत्साहित गर्दै लानुपर्छ,’ नेपालले भने।
गलत कुरालाई स्वीकार्दै शिर निहुर्याएर बस्नु दास प्रवृत्ति भएको बताउँदै नेपालले सबैको मर्यादाको ख्याल गर्नुपर्ने कुरामाथि प्रकाश पारेका थिए। उनले पार्टीमा अपमानजनक व्यवहार भइरहे अर्को कम्युनिस्ट पार्टी खोलेर अघि बढ्ने सङ्केतसमेत गरे।

