राजेन्द्र बोहरा
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको समूह सरकारमा जाने निश्चित जस्तो देखिएको छ।

ओलीसँग मिल्न नसकिने अवस्था महसुस गर्दै विशेष अडानका साथ उभिएका नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनमा आफ्नो समूहलाई अग्रसर गराएको कार्यबाटै नेपाल समूह देउवा सरकारमा जाने निश्चित जस्तै देखिएको हो।

नेता नेपाललाई स्वीकार गर्न नसकिने भन्दै अनेक अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा पनि उस्तै कुरा दोहोर्‍याएका थिए।

अध्यक्ष ओलीले नेपालमाथि प्रहार गरिरहनु र त्यसबाट नेता नेपाल रुष्ट हुने सिलसिला बढ्दै जानुले पार्टी एकताको प्रयत्न गरिरहेका नेताहरू पनि अब एकताको आधार कमजोर हुँदै गएको बताउँदै आएका छन्।

यस परिस्थितिलाई हेर्दा एमाले एकता असम्भव देखिँदै छ । साथै नेपाल समूहले अलग मार्ग अपनाउने क्रमको ठोस कदमका रूपमा देउवा सरकारमा सहभागिता जनाउने कार्य निश्चित हुनेजस्तो प्रतीत हुन थालेको छ।

पछिल्लो समयमा विशेष गरी ओलीको बोलीबाट क्षुब्ध नेपालले देउवा सरकारलाई अस्तित्वमा ल्याउन विशेष योगदान दिएको घटनाक्रम सबैको आँखा अगाडि नै छ।
नेपाल समूहले सरकारमा सहभागिता जनाउने कुरा नेपाली कांग्रेस र स्वयम् नेपाल समूहका केही नेताहरूले व्यक्त गर्दै पनि छन्।

स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित छवटा मन्त्रालयको जिम्मेवारी ग्रहण गरेर नेपाल समूह सरकारमा सहभागी हुने कुरा बुझिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *