काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकपश्चात् विज्ञप्ति जारी गर्दै संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको उल्लेख छ।

