अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकुहरु मारिएका छन् ।

कारबाहीमा अरू पाँच सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरु र तालिबान लडाकुहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको समाचार छ । लडाकु समूहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
कतिपय सहर तथा क्षेत्रहरु लडाकुहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिएको जनाएका छन् ।
अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरुका बीचमा ठूलो भिडन्त भएको थियो । लडाकुहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।-रासस

