काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।
आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

