काठमाडौं : प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको आज कोरोना परीक्षण गरिँदै छ।

शुक्रबार बिहान साढे १० बजेदेखि अपरान्ह ४ बजेसम्म सांसद, संसद्का कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको हो।
संघीय संसद्को बैठक बस्ने तयारी हुँदै गर्दा संसद् सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागेको, संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी गराए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाउँदै १ हप्ताभित्र अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।


