काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।

बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ। दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान रहेको छ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

