सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा आदेश जारी गरेको छ । देउवा प्रधानमन्त्री बन्ने पक्का भएपछि विपक्षी गठबन्धनमा रहेका पार्टीभित्र सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको छ ।

विपक्षी गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेल एक मात्र सांसद छिन् । पार्टीको उपाध्यक्ष समेत रहेकी पौडेलले पार्टीमा निर्णयसमेत नभएकाले तत्काल सरकारमा सहभागी नहुने निश्चित नभएको बताएकी छिन् ।
सरकारबारे छलफल गर्न देउवा निवासमा मंगलबार बिहानैदेखि चहलपहल छ । माओवादी केन्द्रले समेत बिहानै स्थायी समिति बैठक बसिसकेको छ । सरकारमा सहभागी हुनेको टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवासँग छलफल गर्न लगाउने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टीका नेताहरुले तत्काल सरकारमा सहभागी नहुने जानकारी दिएका छन् । विपक्षी गठबन्धनमा रहेको एमालेको माधव कुमार नेपाल समूहले सोमबार नै अव विपक्षी गठबन्धनमा नरहेको बताइसकेका छन् ।

