काठमाडौं : निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना नहुँदा संक्रमण बढ्दै जान सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् ।

नेपालमा देखिएको डेल्टा भेरियन्टको नयाँ म्युटेसन बढी संक्रामक रहेको कारण र दोस्रो लहर पनि अझैँ नसकिएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुको भनाइ रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशत भन्दा बढी भयो भने धेरै जोखिम मानिन्छ । संगठनको मापदण्ड भन्दा बढी २० देखि २५ प्रतिशतको हाराहारीमा नेपालमा संक्रमण दर रहेको तथ्याङ्क छ ।

यस्तो तथ्याङ्कलाई बेवास्ता गर्दै निषेधाज्ञा खुकुलो बनाएकाले पनि संक्रमण भयावह हुने विज्ञहरुको तर्क रहेको छ । सो सम्बन्धमा जनस्वास्थ्यविद् डा. केदार बरालले अहिलेको समयमा यस्तै प्रकारले संक्रमणको अवस्था कायम रहे केही हप्तापछि संक्रमण ह्वात्तै बढ्ने दाबी गरे ।

कोरोना परीक्षणको दायरा बढाई संक्रमितहरु र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी आईसोलेशनमा राख्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनले स्पष्ट पारे । “पहिले निषेधाज्ञा जारी गरेपछि कोेरोना संक्रमण दर विस्तारै कमजोर भएको थियो तर अहिले निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढ्नुले यो पुष्टि हुन्छ कि समाजमा अझै पनि कोरेना संक्रमण चलायमान नै छ” उनले भने ।

जनस्वास्थ्यविद् एवम् टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले पनि पछिल्लो समय संक्रमणको दर विस्तारै बढ्दै गइरहेको र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नहुँदा आउँदा दिनमा अझै कोरोना संक्रमण बढ्न सक्ने बताए ।

यस्तै, प्राडा तथा जनस्वास्थ्यविद् डा. सुजनबाबु मरहठ्ठाले कोरोना रोकथामको सिद्धान्त भनेको स्वस्थ, शंकास्पद र संक्रमितलाई छुट्याउनु रहेकाले निषेधाज्ञा खुकुलो भएपछि यो सबै मिसिएका कारणले संक्रमण अझै बढ्न सक्ने उनको भनाइ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *